कोशीको पोस्टमा एपिएफको ८ गोल, रश्मी एक्लैले गरिन् पाँच गोल


काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा कोशी प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ।

सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–० गोलको फराकिलो जित हासिल गरेको छ। यो जितसँगै जारी लिगमा एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

एपिएफको रश्मीकुमारी घिसिङले पाँच, अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल गरे।

खेलको पाँचौं मिनेटमा अनिता केसीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। १९औं मिनेटमा अनिता बस्नेतले अग्रता दोब्बर बनाइन्।

पहिलो हाफमा २–० को अग्रता बनाएको एपिएफका लागि रश्मिले ५६औं मिनेटमा गोल गर्दा ३–० को अग्रता दिलाइन्।

७९औं मिनेटमा कोशी १० खेलाडीमा समेटियो। नेहाकुमारी चौधरीले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडिन्।

त्यसपछि एपिएफले आठ मिनेटमा थप पाँच गोल गर्न सफल भयो। ८०औं मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन्।

एक मिनेटपछि नै रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दा ८५औं मिनेटमा उनले ह्याट्रिक पूरा गरिन्।

रश्मीले ७७ र ८८औं मिनेटमा गोल थप्दै एपिएफलाई फराकिलो जित दिलाइन्।

जितसँगै सात खेलमा १९ अंक जोडेको एपिएफले शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ। पराजित कोशी समान खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको