काठमाडौं । एरिका गुरुङ २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन्।
फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन थियो।
चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्। क्वाटरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोप्mया बेरुल्टसेभा थिइन्। एरिका र सोप्mयाबीचको खेल १–१ को बराबरीमा टुंगियो। ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अंक एरिकाले बटुलेकी थिइन्।
सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। १९औं एसियाली खेलकुदको कराते पनि अहिले भइरहेको प्रतियोगिताको हलमै भएको थियो।
सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन्। एरिकाले फाइनलमा भियतनामकी नाओन थि नुयेन विरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछिन्। एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन।
एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यि सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए।
प्रशिक्षक कुशलका अनुसार कुमुतेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्। पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गरेका थिए। महिला ५५ केजीमुनि जिया कार्की तथा ६१ केजीमुनि निरुपा दोङले प्रतिस्पर्धा गरेका थिए।
महिला टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले कौशल प्रदर्शन गर्ने छन्। एलिसाले एकल कातामा पनि सहभागिता जनाउने छिन्। पुरुष एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन्। काता शनिबार हुनेछ।


