काठमाडाैं । थाइल्यान्डको बैंककमा सम्पन्न आइएफएमए युथ मुवे थाइ च्याम्पियनसिप २०२४ मा नेपालका लागि दोहोरो स्वर्ण जितेका रमीत महर्जनलाई गृह वडा, गोदावरी-१२ थेच्वले भव्य स्वागत गरेको छ ।
आइतबार रमीतसहितको मुवे थाइ टोलीलाई वडा कार्यलय र वडावासीले वडा परिक्रमासहित स्वागत गरेको हो ।
जे १२-१५ पुरुष युथ ३९-४१ केजीअन्तर्गत रमितले गत सेप्टेम्बर १७ मा स्वर्ण पदक हासिल गरेका थिए । उनले फाइनलमा पूर्वी भूमध्य क्षेत्रका सेयेद माटिन होसेइनीलाई तेस्रो राउन्डमा ‘वाक अप’का आधारमा पराजित गरेका थिए । यसअघि दुई राउन्डमा दुबै खेलाडीले समान १९ अंक जोडेका थिए । सोही दिन रमितले मुवे थाइ डिसिप्लिन्स, मुवे थाइ तलेमा पनि स्वर्ण जितेका थिए । त्यहाँ रमितले विपक्षी खेलाडीलाई नकआउट हानेका थिए ।
आइएमएफए युथ मुवे थाइ च्याम्पियनसिप २०२४ सेप्टेम्बर ११ देखि २० सम्म थाइल्यान्डको राजधानी बैंककमा भएको थियो ।
रमीतसहितको टोली आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।
रमीतको सम्मानमा स्थानीय नव दुर्गा धिमे खल: र मिसा धिमे खल: ले नेवारी परम्परागत बाजा धिमे र झ्याली बजाएका थिए ।
वडा परिक्रमामा वडावासी, आफन्तजन, खेलप्रेमी तथा स्थानीय सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । परिक्रमा वडा कार्यलयबाट सुरु भएर बुद्धपोखरी, च्वे लाछी, खाचा, क्वे लाछी हुँदै थेच्व डोजोमा आएर टुंगिएको थियो ।


