काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन्।
७ चरणको खेलमा उनले ५.५ अंक जोडे। समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, गणेश मान दुवाल तेस्रो र नविन तण्डुकार टाइब्रेकको अधारमा दोस्रो देखि चौथो भए।
५ अंक भएका पूर्णराज खड्का पाँचौ, विलम लाल श्रेष्ठ छैटौ, राजेन्द्र बज्राचार्य सातौ, जनार्दन श्रेष्ठ आठौ, भिम दत्ता पाडे नवौ तथा अबिरल राई दशौ भए।
उपाधि विजेता कमाचार्यले ३० हजार रुपैँया तथा उप–विजेता नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैया पुरस्कार पाए। चौथो हुने खेलाडीले १० हजार तथा पाँचौ हुने खेलाडीले ७ हजार रुपैया पुरस्कार पाए। छैटौ देखि १० औ स्थान हात पार्ने खेलाडीले ५ हजार रुपैया पुरस्कार पाए।
विजेता खेलाडीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे। समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमला विशेष अतिथी थिए।
स्विस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो।


