एसिया रग्बीको लागि श्रीलंकाको खेलकुद विकास प्रमुख आउँदै


काठमाडौं । नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ का लागि श्रीलंकाको खेलकुद विकास प्रमुख प्रोफेसर रियर एडमाइरल सिमल फर्नियान्डो नेपाल आउने भएका छन्।

सिमल फर्नियान्डो श्रीलंकाको खेलकुद विभागका निर्देशक पनि हुन्। उनी प्रतियोगिताको उद्घाटनका लागि आउने भएको छन्।

प्रतियोगिता आउन अब सात दिन मात्र बाँकी रहेको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते दशरथ रङ्गशालामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

पहिलो पटक नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता आयोजना हुन लाग्दा रग्बी सघं पनि निकै नै उत्साहित छ। यसको प्रतियोगिताका लागि तयारी तिव्र गतिमा चलिरहेको संघले जनाएको छ।

यसै प्रतियोगिताकोलागि नेपाली टोलीले पछिल्लो ३ महिना देखि पोखरामा प्रशिक्षण गरिरहेको छ। प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन्। पछिल्लो समय नेपालमा पनि रग्बी खेल चर्चित बनिरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको