काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा न्युरोड टिम (एनआरटी)ले संकटा फुटबल क्लब पराजित गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले संकटलाई २–१ गोलले पराजित गरेको हो।
एनआरटीको जितमा दुवै गोल विनायक थारुले गरे। यता, संकटाका लागि मिलन गरुङले गरेको गोल सान्त्वना बन्यो।
खेलको १३ औँ मिनेटमा विनायकको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो। ५०औँ मिनेटमा मिलनले संकटाका लागि बराबरी गोल फर्काए। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा विनायकले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई रोमाञ्चक जित दिलाए।
जितसँगै जारी लिगमा १५ खेलबाट ३१ अंक जोडेको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ। पराजित संकटा समान खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा झरेको छ।


