काठमाडौं । टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो।
सुरुआती दुई सेट २५–१५, २५–२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट भने २३–२५ ले गुमायो।
यस्तै, चौथो सेटमा २५–१६ को स्कोरमा जित निकाल्दै हेल्प नेपालले विजयी यात्रालाई कायम राखेको हो।
यो जितसँगै हेल्प नेपालले दुई खेलमा पाँच अंक जोडेको छ। दुवै खेलमा पाराजित गण्डकीको समान खेलबाट एक अंक छ।
पहिलो खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गर्दा गण्डकीले मल्दिभ्सको क्लब एचडिसीसँग ३–२ सेटकै हार ब्यहोरेको थियो।
अब सोमबार गण्डकीले इरानको यु–१८ टोली तथा हेल्प नेपालले बुधबार क्लब एचडिसीको सामना गर्नेछन्।


