काठमाडौं । गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो पराजय ब्यहोरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको दिनको दोस्रो खेलमा गण्डकी इरानको यु–१८ टोलीसँग ३–२ को सेटमा पराजित भएको हो।
सुरुआती दुई २८–२६, २५–२३ ले आफ्नो पक्षमा पारेको गण्डकीले त्यसपछि लगातार तीन सेट २१–२५, २२–२५ , १५–२५ ले गुमायो।
लगातार दोस्रो जितसँगै इरानले दुई खेलमा चार अंक जोडेको छ। पराजित गण्डकीको तीन खेलमा दुई अंक छ।
पहिलो खेलमा इरानले माल्दिभ्सको क्लब एचडिसीलाई ३–२ को सेटमा पराजित गरेको थियो। गण्डकी एचडिसीसँग ३–२ र हेल्प नेपाल स्पोर्टस क्लबसँग ३–१ सेटको हार ब्यहोरेको थियो।
यस्तै दिनको पहिलो खेलमा भारतको क्यालिकटले एचडिसीविरुद्ध २५–१३, २५–२३, २५–२१ को जित निकाल्यो।
बुधबार हेल्प नेपालले एचडिसी तथा इरानले क्यालिकटको सामना गर्नेछन्।


