किन्डर ओलम्पिक सम्पन्न

काठमाडौं । अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२औं किन्डर ओलम्पिकको दोश्रो चरणको कार्यक्रम बुधबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीले मार्च पास्ट गरेका थिए। विश्व शारीरिक सुगठन प्रतियोगितका रजत विजेताद्वय प्रज्ज्वलमान शाक्य र सनम मुलगुठीलगायतको उपस्थितिमा भएको मार्च पास्टको अगुवाइ ओलम्पियनद्वय जुडोकी देबु थापा र एथलेटिक्सकी विमला रानाले गरेका थिए।

दोश्रो चरणमा १३ विद्यालयका ६५० विद्यार्थी सहभागी भएको इसीइटीएका सल्लाहकार केदारमान स्थापितले जनाएका छन्। पहिलो चरणको कार्यक्रममा १९ विद्यालयका ७ सय २० विद्यार्थीको सहभागिता थियो।

विद्यार्थीले कराते, उसु, जिम्न्याष्टिक र तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेका थिए। दोश्रो चरणका सहभागीलाई राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्य, काठमाडौं महानगरापलिकाकी उप-मेयर सुनिता डंगोललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

तेश्रो चरणको कार्यक्रम माघ २७ गते सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमै हुनेछ। ‘जित्नु भन्दा सहभागिता महत्पूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकको तेश्रो चरणसम्म विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागी हुने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको