एनपिएलमा चम्किँएका किविज स्टार ‘जिम्मी निशम’


नेपाल प्रिमियर लिग (एनपिएल)मा किविज स्टार जेम्स (जिम्मी) निशमले नेपालीको मनमा राज गर्न सफल भए। ब्याट र बलको सहायताले जनकपुर बोल्टलाई पहिलो सिजनमै विजेता बनाउन उनको योगदान रह्यो नै योसँगै उनले हरेक खेलमा प्रसंसा बटुलिरहेका छन्।

यतीसम्म कि क्रिकेट नै नबुझ्ने र नहेर्ने युवा युवतीहरु पनि उनीमाथि आकर्षित भएर ‘जिम्मी जिम्मी जिम्मी आजा आजा’ बोलको गीतमा टिकटक समेत बनाउन लागेका छन्।

एनपिएलको पहिलो सिजनमै ‘रेड बुल एनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ भएका उनी यतिवेला सामाजिक सञ्जालभरी चर्चाको पात्र बनिरहेका छन्।

जिमी निशमले न्युजिल्यान्डको लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)र टी-२० सबै ढाँचाका खेलमा प्रतिनिधित्व गरिसकेका छन्। २०१२ मा एकदिवसीय र टी-२० दुवै ढाँचामा न्युजिल्यान्डका लागि डेब्यू गरेका उनी किविज टोलीका मुख्य खेलाडिको रुपमा रहिसकेका छन्।

निशम विशेष गरि सीमित ओभरको क्रिकेटमा आफ्नो शक्तिशाली हिटिङका लागि परिचित छन्, र उनले विभिन्न म्याच जित्ने खेलहरूमा  मुख्य भूमिका खेलेका छन्।

निशम २०१५ र २०१९ आईसीसी क्रिकेट विश्वकपमा न्युजिल्यान्डको टोलीमा एक मह्त्वपूर्ण हिस्सा थिए। न्युजील्यान्ड दुबै विश्वकपमा उपविजेता भएको थियो। २०२१ को टी-२० विश्वकप सेमिफाइनलमा उनले धमाकेदार प्रदर्शन गर्दै न्युजिल्यान्डलाई फाइनलमा पुग्न मद्दत गरेको थियो।

घरेलु क्रिकेटमा उनी अकल्याण्डका लागि खेल्छन् र विगतमा इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत विभिन्न टी-२० लिगहरू पनि खेलिसकेका छन्। २०१४ मा दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल्स) बाट आईपीएलमा डेब्यू गरेका उनी २०२० मा किङ्ग्स इलेभेन पञ्जाब (अहिले पञ्जाब किंग्स) को टोलीमा सामेल भए। जहाँ उनले पाँच खेल खेले। २०२१ मा निशमलाई मुम्बई इन्डियन्सले ५० लाखमा अधिग्रहण गरेको थियो।

सन् २०२२ को आईपीएलमा उनलाई राजस्थान रोयल्सले लिएको थियो। आफ्नो आईपीएल करियरमा निशमले कुल १४ खेल खेलेका छन्। जसमा ९२ रन बनाएर ८ विकेट लिएका छन्। २०२४ मा निशमले नेपाल प्रिमियर लिगका लागि जनकपुर बोल्टसँग अनुबन्ध भएर आफ्नो टी-२० फ्रेन्चाइजी अनुभव विस्तार गरे।

निशमले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सको सदस्यका रूपमा निर्णायक भूमिका खेले। उनको गतिशील प्रदर्शनले टोलीलाई उपाधि जिताउन सफल पनि भए। प्रतियोगिता भरी नै निशमले आफ्नो विस्फोटक ब्याटिङ क्षमता देखाउँदै ९ खेलमा १९६.०३ को प्रभावशाली स्ट्राइक रेटमा २४७ रन बनाए। उनले कुल २३ छक्का प्रहार गर्दै लिगमा उल्लेखनीय प्रदर्शन गरे। कर्णाली याक्स विरुद्धको क्वालीफायरमा उनको ४५ रनको योग्दानले जनकपुरलाई फाईनल पुर्‍याउन सफल भयो।

सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनल खेलमा जनकपुर बोल्टले १९.२ ओभरमा १८५ रनको लक्ष्य पछ्याउँदै जित हासिल गरेको थियो ।

लाहिरु मिलन्थाले ४९ बलमा ८७ रनको उत्कृष्ट इनिङ्स खेल्नुका साथै किशोर महतो र मोहम्मद मोहसिनको प्रभावकारी बलिङले तीन–तीन विकेट लिएका थिए ।

यो एनपिएल उपाधी निशमको पहिलो टि-२० उपाधी रह्यो जसले उनको क्रिकेट करियरमा महत्त्वपूर्ण उपलब्धि थपेको छ। एनपिएलमा उनको सहभागिताले लिगको प्रतिस्पर्धात्मक स्तर बढ्नुका साथै स्थानीय समर्थक र खेलाडीहरूलाई पनि उत्प्रेरित गर्यो र नेपालको क्रिकेटप्रतिको क्रेजलाई थप उत्साहित गर्न सफल भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको