काठमाडौं। बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०२६ मा पाकिस्तानले पहिलो जित निकालेको छ। आइतबार भएको समूह चरणको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको हो।
ढाकास्थित राष्ट्रिय रङ्गशालामा पाकिस्तानले पहिलो हाफमै तीन गोल गरेको थियो। म्याकियल अरुन अब्दुल्लाहले तेस्रो मिनेटमा गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका थिए।
त्यसपछि नजीब उल्लाहले आठौँ र २३औँ मिनेटमा गोल गर्दै पाकिस्तानको जित सुनिश्चित गरेका थिए। दोस्रो हाफमा थप गोल हुन नसकेपछि पाकिस्तानले ३–० को जितसहित तीन अङ्क जोडेको छ।
पाकिस्तानले यसअघि आफ्नो पहिलो खेलमा भारतसँग ३–२ गोलको हार बेहोरेको थियो। दोस्रो खेलमा माल्दिभ्सलाई हराउँदै पाकिस्तानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।