नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी पुस २१ देखि माघ ३ गतेसम्म (जनवरी ५ देखि १६, २०२५ सम्म )विरगञ्ज र जनकपुरमा हुनेछ । प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश खेल्ने छन् । यस प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप राखिएको हो।
क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्याउनु भएका नेपाल क्रिकेट संघका पूर्व पदाधिकारी एवंम सदस्यको नाममा संघको आयोजनामा संचालन हुने विभिन्न क्रिकेट प्रतियोगिताहरुको नामाकरण गर्ने संघको निती अनुसार नेपाल क्रिकेट संघले नेपाली क्रिकेटको गर्विलो ईतिहास बोकेको “जय ट्रफी” लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनर्स्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य सहित बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई संघका पूर्व अध्यक्ष स्व. जयकुमार नाथ शाहको नाममा नामाकरण गरीएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
प्रतियोगिताका लिग चरणका खेलहरु दुई दिवसीय तथा फाईनल खेल तीन दिवसीय ढाँचामा संचालन गरिनेछ। प्रतियोगितामा सेतो जर्सी तथा रेड बलको प्रयोग गरिनेछ।
