काठमाडौं । ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा बिहीबार क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौताअनुसार बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ। यसबाट स्थानीय प्रतिभालाई पहिचान गर्दै उनीको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
सम्झौता अनुसार हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षक उपलब्ध गराउनुका सथै स्थानीय प्रशिक्षकको क्षमता बृद्धिका लागि सहयोग गर्नेछ।
यसैगरी प्याब्सन बुढानीलकण्ठले नगरपालिकाभित्रका विद्यालयमा कार्यक्रम संचालन गर्न समन्वय र बालबालिकाको खेलस्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिको सञ्चालन गर्नेछ।
हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो कार्यक्रमबाट युवा खेलाडी पहिचान गर्दै उनीहरुको क्षमता बृद्धिमा सहयोग पुर्याउने उदेश्य लिएको बताए।
‘हामीले यो साझेदारीमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ शेर्पाले भने।
यसैगरी प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले भने,‘यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ साबित हुनेछ।’