काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित हासिल गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमामा सोमबार भएको खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० गोलले पराजित गरेको हो।
आर्मीको जितमा सपना लामा, पुनम मगर र चन्द्रा भण्डारीले समान एक एक गोल गरिन्।
पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो।
खेलको छैटौँ मिनेटमै सपनाको गोलबाट सुरुआती अग्रता बनााएको आर्मीले २२औँ मिनेटमा पुनमको गोलमा २–० को अग्रता बनाएको थियो। ३४औँ मिनेटमा बिमला चौधरी पेनाल्टीमा चुक्दा आर्मी पहिलो हाफमै ३–० को अग्रता बनाउने अवसर गुमायो।
त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा चन्द्राले गोल गर्दै आर्मीलाई ३–० को जित दिलाइन्।
जितसँगै पाँच खेलबाट १० अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। भने समान खेलबाट एक जितसहित तीन अंक रहेको बागमती पूछारबाट दोस्रो स्थानमा छ।


