पुलिस पराजित


काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब ले एन्फा यु–१६ युथ लिगमा पहिलो हार बेहोरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा थ्री स्टार क्लबले पुलिसलाई २–० ले पराजित गरेको हो। 

योसँगै थ्री स्टारले पाँच खेलबाट १३ अंक जोडेको छ। पहिलो हार बेहोरेको पुलिसको समान खेलबाट १० अंक छ। थ्री स्टारलाई जित दिलाउन दुवै गोल सिर्जन श्रेष्ठले गरे। 

पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो। तर, निर्धारित समय सकिन १६ मिनेट बाँकी रहँदा थ्री स्टारले पुलिसमाथि सफलता हात पार्‍यो। 

७५औं मिनेटमा पुलिसले सुरुआती अग्रता लिने अवसर बनाएको थियो। तर, समीर राई पेनाल्टीमा चुक्दा उक्त अवसर गुमायो। त्यसको दुई मिनेटपछि नै सिर्जनले थ्री स्टारलाई अग्रता दिलाए।

७९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारको जित पक्का गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको