काठमाडौं। मधेस प्रदेशलाई हराउँदै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमती सात विकेटले विजयी भएको हो।
मधेसले दिएको ४१ रनको लक्ष्य बागमतीले ६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। बागमतीका लागि यशु खड्काले सर्वाधिक १९ रन जोडिन्। कप्तान कन्चन श्रेष्ठ ९ रनमा आउट हुँदा विपाशा शाही ८ रनमा नट आउट रहिन्।
मधेसका लागि रोजी कडारीले २ विकेट लिइन्।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश १५.५ ओभरमा ४० रनमा समेटियो।
मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कप्तान सरस्वती कुमारी र साक्षी यादवले सर्वाधिक रुपमा समान ६ रन जोडे।
बागमतीका लागि कप्तान कन्चन श्रेष्ठले ४, विपाशा शाहीले २ तथा सोनु खड्का र मनिशा उपाध्यायले समान १ विकेट लिए।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो।
योसँगै तीन खेलमा चार अंक जोडेको बागमतीले समूह ‘बी’ बाट सुपार फोरमा स्थान पक्का गरेको हो। यता, साबिक उपविजेता कोशी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।