काठमाडौँ, माघ ११ गते । नेपाल खेलकुद पत्रकार मञ्चले नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा)सँगको सहकार्यमा नेपालमा इ स्पोर्ट्सको मुभमेन्टलाई सशक्त बनाउन शुक्रबार यो खेलसम्बन्धी नो योर गेम कार्यक्रम सञ्चालन गरेको छ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चअन्तर्गत रहेको एनएसजेएफ एकेडेमी र नेसाले नेपालका खेल पत्रकारलाई इस्पोर्ट्सबारे विस्तृत ज्ञान दिन पनि सो कार्यक्रमको आयोजना गरिएको हो। थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्समा भएको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत् ३० जना खेल पत्रकारको उपस्थिति रहेको थियो।
एनएसजेएफ एकेडेमीका संयोजक तथा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले सो कार्यक्रमको उद्घाटन गर्नुहुँदै अहिलेको समयमा नेपाली खेल पत्रकार इस्पोर्ट्सबारे जानकार हुन अत्यावश्यक भएको बताउनुभयो। उनले इ-स्पोर्ट्स विश्वव्यापीरुपमै तीब गतिमा लोकप्रिय बनिरहेको खेल भएकोले पनि खेल पत्रकारहरुसँग इस्पोर्ट्सबारे गहन जानकारी हुनुपर्छ। इस्पोर्ट्स अब मनोरञ्जन मात्र रहेन। यो एक उद्योग बनिसकेको छ, जसमा नेपालको पनि ठूलो सम्भावना छ, उनले भने।
नेसाका अध्यक्ष सुरज डङ्गोलले इ स्पोर्ट्सको इतिहासका साथै यसका विविध पक्षबारे गहन प्रस्तुती दिनुभएको थियो। नेपालमा इस्पोर्ट्सलाई अगाडि बढाउन सन २०१६ मा स्थापना भएदेखि नै नेसा लगातार खटिरहेको छ र फलस्वरुप नेपालले अन्तर्राष्ट्रिय इ स्पोर्ट्समा थुप्रै उपलब्धि पनि हासिल गरिरहेको छ। उनले भने। यसैगरी नेपालका इस्पोर्ट्स प्रशिक्षक तथा रेफ्रीद्वय अरुण मिश्र र सौजन्य श्रेष्ठले इ स्पोर्ट्सको प्राविधिक पक्ष र नियमबारे जानकारी दिनुभएको थियो।