काठमाडौं १२ माघ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज पनि एउटा खेल हुने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलमा आयोजकको तर्फबाट लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र विभागीय नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
विजेताले आइतबार फ्रेन्ड्स र न्युरोड टिम एनआरटीसँग फाइनल प्रवेशका लागि मंगलबार खेल्ने छ। अहिलेसम्म संकटा र मच्छिन्द्र फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। संकटाले उद्घाटन खेलमा चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। यसैगरी दोस्रो खेलमा शुक्रबार मच्छिन्द्रले विभागीय नेपाल एपीएफलाई १–० को कठिन जीत दर्ता गर्न सफल भयो।
स्टार खेलाडी विमल घर्ती मगर पनि खेलेको मच्छिन्द्रको जीतमा डिफेन्डर सनिश श्रेष्ठले अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। १७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले नगदै २६ लाख प्राप्त गर्दा उप विजेता टिमले पनि नगदै १३ लाख प्राप्त गर्ने छ। यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ।
