सभापतिको कप : फाइनल प्रवेशको लागि आयोजक बागमती र एनआरटी भिड्दै

काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज (मंगलबार) हुँदै छ।

सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता काँग्रेस सभापति कप फुटबलको फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) र न्युरोडटिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।

आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन्। एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ।
क्वाटरफाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम ब्याक गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो।

उता, एनआरटीले भने फ्रेन्ड्स क्लब कोपुन्डोललाई ३–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। विजेताले बिहीबार सङ्कटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै सङ्कटा क्लबले फाइनलमा स्थान बनाएको छ। सङ्कटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८–७ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो।

सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगदै २६ लाख प्राप्त गर्दा उप विजेताले १३ लाखमा चित्त बुझाउने छ। यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए।

यसैबिच, सभापति कप फुटबलको ट्रफी बुधवार दशरथ रङ्गशालामा सार्वजनिक गरिने छ। ट्रफी सार्वजनिक गर्नु अघि काठमाडौँमा युवाहरूको मोटरसाइकल र्‍याली आयोजना गरिएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको