ग्रेट हिमालय सेमिफाइनलमा

काठमाडौं। इशान पाण्डेको अलराउन्ड प्रदर्शनसँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न खेलमा ग्रेट हिमालयले बालुवाटार क्बललाई १९ रनले पराजित गरेको हो।

जितसँगै ग्रेट हिमालयनले तीन खेलमा ६ अंक जोड्यो। पराजित बालुवाटार समान खेलबाट दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ। ग्रेट हिमालयले दिएको १४४ रनको लक्ष्य पछ्याएको बालुवाटारले पाँच विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो।

बालुवाटारका प्रशिद्ध जैसीले सर्वाधिक ५२ रन बनाए। सुजल खड्गीले ५१ रनको योगदान दिए पनि जित दिलाउन सकेनन्। ग्रेट हिमालयका इशान पाण्डेले दुई विकेट लिए।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ग्रेट हिमालयनले पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो। ग्रेट हिमालयका इशान पाण्डेले सर्वाधिक ६२ रन बनाए। दीपक केवतले अविजित ६१ रन बनाए।

बालुवाटारका सुमित बुढाले दुई विकेट लिए। अर्को खेलमा एन्जल्स स्पोर्ट्स एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई सात विकेटले पराजित गर्‍यो। ग्रेट हिमालयले दिएको ११६ रनको लक्ष्य पछ्याएको एन्जल्सले १७.२ ओभरमा तीन विकेट गुमाउँदै ११७ रन बनायो।

एन्जल्सका उपेन्द्र खत्रीले अविजित रहँदै ५८ रन बनाए। रत्नकुमार रौनियारले ३१ र कविन्द्र तामाङले १२ रन बनाए। ग्रेट हिमालयनका जयन्द्र विष्ट र सुलभ न्यौपानेले समान एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ थालेको ग्रेट हिमालयनले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। ग्रेट हिमालयनका दीपक बोहराले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। किरण दयाल १८ र दिनेश विष्ट ११ रनमा आउट भए। एन्जल्सका उपेन्द्र खत्रीले सर्वाधिक तीन विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको