काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा अल–नासरले अल–फेहामाथि ३–० को जित हात पारेको छ।
नासरको जितमा जोन डुरानले दुई र कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे। खेलको सुरुआतदेखि नै अल–नासरले दबाब सिर्जना गर्यो।
डुरानले २२औं मिनेटमा सुन्दर गोल गर्दै पहिलो हाफभरि १–० को अग्रता दिलाए।
७२औं मिनेटमा मानेको उत्कृष्ट क्रसलाई डुरानले नजिकैबाट गोल गर्दै अल–नासरको अग्रता दोब्बर बनाए।
दोस्रो गोल भएको दुई मिनेटपछि नै रोनाल्डोले उत्कृष्ट गोल गर्दै अग्रता ३–० मा पुर्याए।
जितसँगै अल–नासरले १९ खेलबाट ४१ अंक पुर्याएको छ। नासर शीर्ष स्थानको अल– इत्तिहादभन्दा आठ र दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंकले पछि छ।
