काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रक्षिक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिप २०२४ कपो फइनलमा बहोरेको हारपछि पुनरागमन गर्दै नेपाली टिम अर्को साता सुरु हुने ‘वुमेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२५’ मा सफलता हात पार्न आतुर रहेको बताएका छन्।
गत सेप्टेम्बर, २०२४ मा दशरथ रंगशालामा भएको साफको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले हारेपछि नेपाली महिला टिमले पहिलो उपाधि जित्ने अवसर गुमाएको थियो। त्यसयता नेपाली टिम पहिलोपल्ट मैदानमा उत्रिन लागेको हो। यसक्रममा मुख्य प्रशिक्षक तामाङले पनि टिम सम्हाल्ने क्रमलाई निरन्तरता दिएका छन्।
नेपाली टिमलाई वाफ च्याम्पियनसिप र साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका मुख्य प्रशिक्षक तामाङले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘साफको हारपछि कमब्याक भइसक्यो। हामी फाइनल जसरी पनि जित्नुपर्छ भनेर सबै जना लागेका छौं र खेलाडीहरूले मलार्य नै उत्साहित बनाइरहेका छन्।’ साफको फाइनलपछि महिला टिम छाड्ने घोषणा गरेका उनले अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहपछि फेरि टिम सम्हालेको पनि बताए।
एन्फा महिला लिगको अनुभवले खेलाडीलाई राम्रो बनाएको उल्लेख गर्दै उनले भने, ‘लिगमा लगाता खेल्दा सबै खेलाडी फिट रहेछ। सबै जना आत्मविश्वासी भएर खेल्नसक्ने भएछन्। लिगले खेलाडीलाई राम्रो गरेको रहेछ।’ उनले बोलाएको ३९ सदस्यीय टिममा लिग च्याम्पियन टिम एपिएएफ क्ल्बका खेलाडीको वर्चस्व रहेको छ।


