काठमाडौं। डिसिए धनगढीलाई पराजित गर्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ।
आइतबार सम्पन्न खेलमा अत्तरिया ६ विकेटले विजयी भएको हो। योसँगै अत्तरियाले उपाधिका लागि फ्रेन्ड्स युथ क्लब डडेलधुरासँग प्रतिस्पर्धा गर्ने छ।
धनगढीले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पछ्याएको अत्तरियाले १२ बल बाँकी रहँदा चार विकेट गुमाएर ११४ रन बनायो। अत्तरियाका शंकर राणाले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए। ५५ बल खेलेका तीन चौका र चार छक्का प्रहार गरेका थिए।
दीपेश कँडेल २४ र भीम सार्की १६ रनमा आउट हुँदा विवेककुमार यादव १२ रनमा अविजित रहे। धनगढी हिक्मत महराले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका १६ रन खर्चिए।
ललितनारायण राजवशी र भोजराज भट्टले समान एक विकेट लिए।
त्यसअघि कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०८ रनको योगफल तयार गरेको थियो।
धनगढीका मिलन बोहराले सर्वाधिक २८ रन बनाए। १८ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे। अभिषेक पल २७, दीपेन्द्रसिंह ऐरी १५, राहुल भण्डारी १३ र लोकेश बमलले ११ रन बनाए।
अत्तरियाका विवेककुमार यादव र कमल गुप्ता समान दुई विकेट लिए। राशिद खान, दीपेश कँडेल र शहब आलमको नाममा समान एक विकेट लिए।