दशौं राष्ट्रिय खेलकुदको सुदुरपश्चिम छनोटमा कैलाली शीर्ष स्थानमा

धनगढी, फागुन ०२ । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शिर्ष स्थानमा पुगेको छ। सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा भईरहेको छनोट प्रतियोगिता अन्तर्गत हालसम्म नतिजा आएका खेलहरुमा कैलाली प्रथम स्थानमा रहन सफल भएको हो।

हालसम्म सम्पन्न छनोट प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य गरी चार सय ६८ पदकको टुङगो लागेको छ। हालसम्म सम्पन्न प्रदेश स्तरीय छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा एक सय ४२ वटा पदक प्राप्त गरेको छ। जसमा ७५ वटा स्वर्ण पदक रहेका छन्। यस्तै ४६ वटा रजत पदक र २१ वटा कास्य पदक कैलालीले जितेको छ। अंक तालिकाको दोस्रो स्थानमा कञ्चनपुर रहेको छ। कञ्चनपुरले ६४ वटा स्वर्ण पदक, ४२ वटा रजत पदक र २४ वटा कास्य पदक गरी एक सय ३० पदक प्राप्त गरेको छ। तेस्रो स्थानमा डडेल्धुरा रहेको छ। डडेल्धुराले ९ स्वर्ण, १० रजत र २४ कास्य गरी ४३ पदक प्राप्त गरेको छ।

सुदुरपश्चिम प्रदेशका ९ जिल्लाले सहभागीता जनाएको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ। बझाङले ९ स्वर्ण, ८ रजत र १० कास्य गरी २७ पदक पाएको छ। पाचौं स्थानमा रहेको बाजुराले ६ स्वर्ण, ६ रजत र १८ कास्य गरी ३० पदक पाएको छ। छैठौं स्थानमा रहको दार्चुलाले ३ स्वर्ण, ९ रजत र २२ कास्य गरी ३६ पदक पाएको छ। सातौं स्थानको बैतडीले ३ स्वर्ण, ९ रजत र ११ कास्य गरी २३ पदक प्राप्त गरेको छ। आठौं स्थानमा रहेको डोटीले दुई स्वर्ण, ७ रजत र २० कास्य गरी २९ पदक पाएको छ। अंक तालिकाको पुछारमा अछाम रहेको छ। अछामले एक स्वर्ण दुई रजत र ५ कास्य गरी ८ पदक जितेको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन्। ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन्। दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडीले सहभागी जनाएका थिए। सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ। त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भईरहेकोमा अधिकांश खेलका खेलाडीहरुको छनोट सकिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको