काठमाडौँ । शुक्लाफाँटा नगरपालिकाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य गोदावरी नगरपालिकाले १९ ओभरमा ५ विकेट गुमाउँदै भेटायो। गोदावरी नगरपालिकाका लागि निश्चल केसी र हृदय बिठारीले ६१ रनको उत्कृष्ट अर्धशतकीय साझेदारी गरे।
गोदावरी नगरपालिकाका लागि ओपनर ब्याटर गजेन्द्र बोहराले सर्वाधिक ३९ रन प्रहार गरे। बोहरा म्यान आफ दी म्याच समेत चुनिदै नगद दुई हजार पाँच सय प्राप्त गरे। निश्चल केसीले ३७ तथा हृदय बिठारीले ३५ रनको अविजित पारी खेले। शुक्लाफाँटा नगरपालिकाका लागि कैलाश ऐरले २ तथा अशोक धामीले १ विकेट लिए।
त्यसअघि शुक्लाफाँटा नगरपालिकाका कप्तान ललित सिंह भण्डारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। निर्धारित २० ओभरमा शुक्लाफाँटा नगरपालिकाले ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
शुक्लाफाँटाका लागि निराजन गौतमले सर्वाधिक २६ रन बनाए। सुरज तिरुवा १६, लोकेश जोशी र कृष्ण भट्टले समान १५ रन, कैलाश ऐरले अविजित १३ तथा अशोक धामीले १० रनको योगदान दिए। गोदावरी नगरपालिकाका लागि खडक बोहरा र आयुश द्वारियाले समान दुई दुई विकेट र प्रकाश राज जोशी, शुशिल रावल र शुशिल रावलले समान एक एक विकेट लिए।