फाप्लामा जारी कैलाली प्रिमियर लिग–३ को दोश्रो खेलमा पुनर्वास नगरपालिका बी ले घोडाघोडी नगरपालिकालाई १०९ रनले पराजित गर्दै प्रतियोगितमा उत्कृष्ट सुरुवात गरेको छ।
पुनर्वास नगरपालिका बी ले प्रस्तुत गरेको १८७ रनको लक्ष्य पछ्याउने क्रममा घोडाघोडी नगरपालिकाले निर्धारित १६ ओभरको खेलमा ४ विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो। घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द बिष्टले सर्वाधिक १९ रन बनाए। त्यसैगरी सुंधाशु रावल अविजित १४ रन, विशाल बिष्ट १२ र जिवन थलालले १० रनको योगदान दिए।
पुनर्वास नगरपालिका बी का लागि बसन्त सिंह कार्की, बिक्रम ठगुन्ना, सागर भण्डारी र सचिन भट्टले समान एक एक विकेट लिए। त्यसअघि फाप्लामा टस जितेर पहिला ब्याटिङ रोजेको पुनर्वास नगरपालिका बीले निर्धारित १६ ओभरको खेलमा २ विकेटको क्षतिमा १८६ रन बनायो। पुनर्वास नगरपालिका बी का लागि ओपनर ब्याटर दिपक बोहराले शतक हिर्काए। ५२ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतले अविजित १०० रन बनाए। त्यस्तै टेक रावतले अर्धशतक हिर्काए। उनले ३२ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन बनाए। पुनर्वास नगरपालिका बी का लागि अभिषेक पालले २ तथा कप्तान बिपिन रावलले ७ रन बनाए।
घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द बिष्ट र चेतराज भण्डारीले समान एक एक विकेट लिए। खेलमा शतक हिर्काएका दिपक बोहरा म्यान अफ दी म्याच चुनिए। उनले नगद दुई हजार पाँच सय सहित ट्रफी पाए।
फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरीका १२ ओटा स्थानीय तहका टिमले सहभागीता जनाएका छन्। प्रतियोगीताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले रहेको छ। धनगढीको फाप्ला खेल मैदानमा आयोजना भईरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो। पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो।
तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ। समूह ए मा गोदावरी नगरपालिका, पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका, समूह बी मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी, समूह सी मा त्रिवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन्।
लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद एक लाख प्रप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघले जनाएको छ।