इ स्पोर्ट्स संघ नेपालको आयोजनामा दोस्रो इ स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप काठमाडौंमा बिहीबार सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले उत्साहजनक रुपमा प्रतियोगिताले नयाँ कोशेढुङ्गा कायम गरेको बताए। करिब १२ हजार खेलाडी अनलाइनबाट दर्ता भएर प्रतियोगिता खेल्नु खेलकुदमा नयाँ अध्यायको सुरुवात भएको सदस्य सचिव घिसिङको भनाई थियो।
बिहीबार राखेप कभर्डहलमा सुरु प्रतियोगिताको पहिलो दिन भ्यालोरेन्टका खेल सञ्चालन भएका छन्। शुक्रबार र शनिबार इ फुटबल, डोटा टू, पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र कस प्लेका खेलहरु हुनेछन् । इ स्पोर्ट्स संघ नेपालले २५ लाख रुपैयाँ पुरस्कार राशी राखेर दोस्रो राष्ट्रिय प्रतियोगिताको सञ्चालन गरेको छ।
कार्यक्रमलाई नेपाल प्लेजले ब्यवस्थापन गरेको छ भने खेल हेर्न आउने दर्शकका लागि सांगेतिक प्रस्तुतीसँगै फुड स्टलहरु, फन गेम्स र मनोरञ्जनात्मक कृयाकलापलाई राखिएको छ।
संघका अध्यक्ष अन्जन धमलाले इ स्पोर्ट्स खेलको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर नीजि क्षेत्रलाई जोडेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिएको बताए । उनले नीजि तथा सरकारी क्षेत्रको सहयोगबाट यस खेलले अन्तराष्ट्रिय जगतमा राम्रो नतिजा दिने बताए।
कार्यक्रममा राखेप कार्यकारी बोर्ड सदस्य सुवर्णकेशरी श्रेष्ठ सहित बोर्ड सदस्यहरु,विभिन्न संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो।
