काठमाडाैँ । धनगढीको फाप्ला खेल मैदानमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको छ। समूह ए बाट विजेता बन्दै गोदावरी नगरपालिकाको टिम र समूह बी बाट समूह विजेता बन्दै पुर्नवास नगरपालिका बी को टिम सेमिफाइनल पुगेका हुन्। समूह ए मा रहेका पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका तथा समूह बी मा रहेका जोरायल गाउँपालिका र घोडाघोडी नगरपालिका प्रतियोगिताबाट बाहिरिएका छन्।
शुक्रबार सम्पन्न प्रतियोगीताको पाँचौ खेलमा गोदावरी नगरपालिका विजयी भएको छ। प्रतियोगितामा दोश्रो खेल खेलेको गोदावरीले ५ विकेटको जीत हाँसिल गरेको छ। पुर्नवास नगरपालिका ए भने लगातार दोश्रो खेलमा पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएको छ। पुर्नवास नगरपालिका ए ले दिएको ५९ रनको लक्ष्य गोदावरी नगरपालिकाले ७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। गोदावरीका लागि आयुश खड्काले अविजित २० रन बनाए। त्यस्तै गजेन्द्र बोहराले १७ रनको योगदान दिए। हृदय बिठारी ७ रनमा अविजित रहे। पुर्नवास नगरपालिका ए का लागि पारस सुनार,पारस शाही र कप्तान अविनास सिंहले समान एक एक विकेट लिए।
त्यसअघि पुर्नवास नगरपालिका ए ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। खराब मौसमका कारण ८ ओभरमा छोट्याइएको खेलमा पुर्नवास ए ले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ५९ रन बनाएको थियो। पुर्नवास ए का कप्तान अविनास सिंहले सर्वाधिक ३१ रनको बनाए भने पारस पारस शाहीले १३ रन बनाए। गोदावरी नगरपालिकाका लागि शुशिल साउँदले करियरकै उत्कृष्ट बलिङ गरे। १ ओभर बलिङ गरेका साउँदले १ रन खर्चेर ४ विकेट चट्काए। उनी प्लेयर अफ दी म्याच चुनिए। त्यस्तै गजेन्द्र बोहराले २ विकेट लिदा खडक बोहराले १ विकेट लिए।
त्यस्तै आज भएको दोश्रो खेलमा जोरायल गाउँपालिकालाई पराजित गर्दै पुनर्वास नगरपालिका बी पनि सेमिफाईनल पुगेको छ। जोरायमाथि ४७ रनको जित हात पार्दै पुर्नवास बी टीम अन्तिम चारमा पुगेको हो। पुनर्वास नगरपालिका बीको यो लगातार दोश्रो जीत हो भने जोरायल गाउँपालिका एक खेलमा जीत र एक खेलमा हार व्यहोर्दै प्रतियोगीताबाट बाहिरिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाएको थियो। पुनर्वास बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। पुनर्वास बी का लागि अघिल्लो खेलमा शतक प्रहार गरेका दिपक बोहराले आज पनि आक्रामक अर्धशतक प्रहार गरे। ४६ बल सामना गरेका बोहराले १० चौका र ३ छक्काको मद्दतले ८२ रन बनाए। बोहरा म्यान अफ दी म्याच चुनिए। त्यस्तै बसन्त सिंह कार्काीले ३१, आशिष लुहार २८, टेक रावतले २२ तथा सुवास ऐरले १० रन बनाए। जोरायल गाउँपालिकाक लागि बसन्त खत्रीले सर्वाधिक ३ विकेट लिए । संजय बोहरा, धर्मराज जोशी र दिपक रोकायाले समान एक एक विकेट लिए।
पुनर्वास नगरपालिका बी ले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा जोरायल गाउँपालिकाले पूरा २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो। जोरायल गाउँपालिकाका लागि सुनिल चन्दले उत्कृष्ट अर्धशतकीय पारी खेलेपनि जित दिलाउन भने सकेनन्। चन्दले ४३ बलमा ६० रन बनाए भने कप्तान योगेश भाटले ३३ बलमा २८ रन बनाए। दिपक कप्डेलले १९ रन बनाउँदा बसन्त खत्री १५ रनमा रनआउट भए। पुनर्वास नगरपालिका बी का लागि हिक्मत महराले ४ विकेट चट्काए। त्यस्तै सागर भण्डारीले २,तथा भोजराज भट्ट र सचिन भट्टले समान एक एक विकेट लिए। शनिबारबाट समूह सी र समूह डी का खेलहरु हुनेछन्।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो। तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ। पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो। फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरीका १२ ओटा स्थानीय तहका टिमले सहभागीता जनाएका छन्। धनगढीको फाप्ला खेल मैदानमा आयोजना भईरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो। पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो।
तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ। समूह ए मा गोदावरी नगरपालिका, पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका, समूह बी मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी, समूह सी मा त्रिवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन्।
लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ। प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद एक लाख प्रप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघले जनाएको छ।