फाल्गुन । धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग–३ को नवौं खेलमा डडेल्धुराको पर्शुराम नगरपालिका विरुद्ध कैलालीको लम्की नगरपालिकाले सहज जित निकालेको छ।
समूह डी अन्तर्गतको खेलकमा लम्कीले पर्शुरामलाई ११ रनले पराजित गर्यो। लगातार दोस्राे खेलमा पराजय व्यहोरेको पर्शुराम प्रतियोगिताबाट बाहिरिएको छ। समूह डी कै अघिल्लो खेलमा शुक्लाफाँटा नगरपालिका विजयी भएको थियो। अब लम्की र शुक्लाफाँटा बीच खेलिने खेलको विजेता टोली सेमिफाइन प्रवेश गर्नेछ।
लम्कीलाई जित दिलाउन डम्मर माझीले उत्कृष्ट बलिङ गरे। ४ ओभर बलिङ गरेका माझीले १२ रन खर्चर्दै ३ विकेट चट्काए। माझी प्लेयर अफ दी म्याच चुनिए। त्यस्तै ३.४ ओभर बलिङ गरेका कवि बमले १८ रन खर्चेर ३ विकेट हात पारे। शुरेश भण्डारीको नाममा २ विकेट रहँदा दिपक शाहीले १ विकेट लिए।
११६ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाउन मात्र सक्यो। पर्शुरामले पावर प्लेमा ३६ बलमा ३ विकेट गुमाउँदै मात्र १८ रन बनायो। पावर प्लेमा पर्शुरामका लागि मान साउँदे सर्वाधिक २७ रन बनाए। त्यस्तै किरन धामीले २२ रन बनाउँदा आयुश्मान शाहीले १७ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। लम्कीका लागि ओपनर ब्याटर कमल बिष्ट र अर्जुन साउँदले ४१ रनको साझेदारी गरे। बिष्टले ३४ रन बनाउँदा साउँदले १८ रन बनाए। १० ओभरमा मात्र १ विकेट गुमाएर ६८ बनाएको लम्कीले त्यसपछि भने लगातार विकेट गुमायो। उसका लागि रबिन भण्डारीले थप १८ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन्। पर्शुरामका लागि किरन धामी र आयुश्मान शाहीले समान तीन तीन विकेट लिए भने दिल बोहराले एक विकेट लिए ।
आइतबारै भएको दोस्राे खेलमा धनगढी उपमहानगरपालिकालाई ८ विकेटले पराजित गर्दै त्रिवेणी नगरपालिकाले लगातार दोस्राे जित निकालेको छ। त्रिवेणी नगरपालिका समूह सी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। त्रिवेणी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेपछि धनगढी उपमहानगरपालिकाको टिम एकखेल अगावै प्रतियोगीताबाट बाहिरिएको छ। धनगढी उपमहानगरपालिकाले दिएको १०३ रनको झिनो लक्ष्य त्रिवेणीले ११ ओभरमा केबल २ विकेट गुमाउँदै पूरा गर्यो। त्रिवेणीलाई जित दिलाउन राजु रिजाल र संदिप मौरियाले अविजित शतकिय साझेदारी गरे। मौरिया ४१ रनमा अविजित रहेभने रिजाल ३८ रनमा अविजित रहे। २७ बल सामना गर्दै ७ चौका हिर्काएका रिजाल म्यान अफ दी म्याच चुनिए। त्यस्तै विजय रानाले १४ रन बनाए ।
धनगढी उपमहानगरपालिकाका लागि सुनिल दौल्याल र जनक नाथले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको धनगढी उपमहानगरपालिकाकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १०२ रन बनायो। धनगढीका लागि मनिस जोशीले सर्वाधिक ३८ रन बनाए। रोशन रावलले १६ रन बनाउँदा कप्तान आकाश बिस्टले १२ रनको योगदान दिए। अन्य ब्याटरहरुले दोहोरो अंकको रन बनाउन सकेनन। धनगढीका ४ जना ब्याटर रनआउट भए।
त्रिवेणी नगरपालिकाका लागि दिपक टमाट्टा र विशाल आचार्यले समान दुइ दुइ विकेट लिए भने रोशन अधिकारी र लोकेन्द्र चन्दले समान एक एक विकेट हात पारे। साेमबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन । पहिलो खेल बिहान ९ः३० बजे भिमदत्त र लम्कीका बीच हुनेछ। जसको विजेता टोली समूह डीको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ भने दिउँसो २ बजे लिग चरणको अन्तिम खेल धनगढी र वेदकोटका बीच हुनेछ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो। तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ।
प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ। सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ।