धनगढी, फागुन १२ । सुदुरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश भिड्ने भएका छन्।
गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भईरहेको प्रतियोगिताको उपाधिका लागि दुबै टोली भिड्ने भएका हुन्।
दोस्रो सेमिफाईनलमा लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले बागमति प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदुरपश्चिम प्रदेशको टीमसँग प्रतिस्पर्धा गर्ने भएको हो। सुदुरपश्चिम प्रदेश यसअघिको पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै फाईनल पुगेको छ।
दोस्रो सेमिफाईनलमा लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लब बागमति प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै फाईनल पुगेको हो। लुम्बीनीको जितमा विनोद केवतले निर्णायक गोल गरे। उनले खेलको ७५ औं मिनेटमा गोल गरेका हुन्। आफ्नो टोलीलाई फाईनल पुराउन उत्कृष्ट खेल प्रदर्शन गरेका अभिनाश थापा मगर प्लेयर अफ द म्याच भए। उनले नगद ५ हजार सहित ट्रफी पाए।
सुदुरपश्चिम र लुम्बीनी प्रदेशबीचको फाईनल खेल फागुन १४ गते महाशिवरात्रीका दिन हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ।
