काटमाडाैं। तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि नेपाल पुलिसले जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको फाइनलमा नेपाल पुलिसले नेपाली सेनाको टोलीलाई हराएको हो । प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको विजेता पुरस्कार राशी रु. एक लाख र महिला ५८० केजी तौल समूहको विजेता पुरस्कार राशी रु. साठ्ठी हजार नेपाल पुलिसले प्राप्त गरेको छ भने दुवै समूहको उपविजेता नेपाली सेनाले पुरुष ६४० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु. पचास हजार र महिला ५८० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु. चालिस हजार प्राप्त गरेको छ ।
२०८१ फाल्गुन १६ गते शुरु भएको प्रतियोगिताको उद्घघाटन माननिय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले डोरी तानेर गर्नु भएको थियो । प्रतियोगितामा पुरुष ६४० केजी तौल समूहमा सात प्रदेश र तीन विभागीय टोली गरेर जम्मा दश टिमको सहभागिता रहेको थियो भने महिला ५८० केजी तौल समूहमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्विनी पाँच प्रदेश तथा तीन विभागीय टोली गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तराष्ट्रिय डोरी तान महासंघ (TWIF) को नियमानुसार लिग फर्म्याटमा खेलाइएको डोरी तान टेक्निकल विभागका सदस्य तथा खेल नियन्त्रक ई. युवराज चौधरीले जानकारी दिनु भयो । पुरुष तर्फ पाँच-पाँच टोलीलाई दुई समूहमा राखी प्रत्येक समूहको लिगमा खेल खेलाईएको थियो । समूह क बाट नेपाल पुलिसले चार खेल मध्ये सबै खेल जित्दै समूह विजेता बनी सेमीफाइनलमा स्थान सुरक्षित गरेको थियो भने मधेसले तीन खेल जित्दै समूह उपविजेता बनी सेमीफाइनलमा प्रवेश गरेको थियो । समूह ख बाट नेपाली सेनाले तीन जित र एक बराबर गरी समूह विजेता भएर सेमीफाइनलमा पुगेको थियो भने सशस्त्र प्रहरी दुई जित र दुई बराबर खेली समूह उपविजेता बनी सेमीफाइनलमा प्रवेश गरेको थियो । पहिलो सेमी फाइनलमा नेपाल पुलिसले सशस्त्र प्रहरीलाई २-० को सोझो सेटमा पराजित गरी फाइनल प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमीफाइनलमा नेपाली सेनाले मधेस प्रदेशलाई २-० को सोझो सेटमा पराजित गरी फाइनल प्रवेश गरेको थियो । फाइनल खेलमा नेपाल पुलिसले नेपाली सेनालाई २-१ को सेट अन्तरमा पराजित गरी तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको उपाधि जितेको हो ।
त्यस्तै महिला ५८० केजी तौल समूहमा सहभागि ८ टोलीलाई चार-चार टोलीको दुई समूह बनाई प्रत्येक समूहको लिगमा खेल खेलाईएको थियो । समूह क बाट नेपाल पुलिस पहिलो र लुम्बिनी प्रदेश दोस्रो भई सेमीफाइनलमा प्रवेश गरेका थिए भने समूह ख बाट नेपाली सेना पहिलो र सशस्त्र प्रहरी दोस्रो भई सेमीफाइनलमा प्रवेश गरेका थिए । पहिलो सेमीफाइनलमा नेपाल पुलिसले सशस्त्र प्रहरीलाई २-० को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमीफाइनलमा नेपाली सेनाले लुम्विनी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गरेको थियो । फाइनलमा नेपाल पुलिसको टिमले नेपाली सेनाको टिमलाई २-१ सेटमा पराजित गरी तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको महिला ५८० केजी तौल समूहको उपाधि जितेको हो ।
प्रतियोगिताको पुरस्कार वितरण फाल्गुन १७ गते प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार चौधरीज्यूको उपस्थितिमा गरिएको थियो । निकै नै सभ्य र भव्य रुपमा प्रतियोगिता सम्पन्न भएकोमा नेपाल डोरी तान संघका अध्यक्ष भवानी प्रसाद पौडेलले सम्पूर्ण सहभागी टोलीहरु, आयोजक सदस्यहरु, टेक्निकल कमिटी र सहयोगीहरु सबैलाई धन्यवाद दिंदै सरकारको सहयोग पाएमा यो खेलले अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउने बताउनुभएको जानकारी नेपाल डोरी तान संघका महासचिव विमल पौडेलले दिनु भयो ।
