सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी


धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ।

कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ रहने भएको छ।

मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकबीच हस्ताक्षर भयो। सम्झौतापछि एसपीएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिँदै अगाडि बढ्ने बताएका छन्।

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ। सोमबार मुख्य प्रबद्र्धन सम्बन्धी सम्झौता पत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पाठकले हस्ताक्षर गरेका थिए। छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष पाठकले बताए। उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको