काठमाडौं। चौतारा साँगाचोकगढी नगरपालिकाले पाँचपोखरी कप प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
पेमाथांग समानता खेलकुद मैदानमा मंगलबार भएको फाइनलमा चौताराले सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो।
उपाधिसँगै चौताराले १ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता सुनकोशीले ५० हजार रुपैयाँमा चित्त बुझायो।
चौताराले सेमिफाइनलमा आयोजक पाँचपोखरी गाउँपालिका र सुनकोशीले इन्द्रावतीलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए।
पाँचपोखरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकले प्राविधिक सहयोग गरेको थियो।
