युगान्डामाथि नेपालको एक विकेटको जित

काठमाडौं । वुमन्स डे टी-२० कपअन्तर्गत नेपालले घरेलु टोली युगान्डमाथि १ विकेटको जित निकालेको छ।

आइतबार युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गर्‍यो।

जित निकाले पनि नेपालको ब्याटिङ भने राम्रो हुन सकेन। डेब्यू खेलाडी सना प्रवीनले १७ रन र पूजा महतोले १६ रन जोड्दा नेपालका अरु ब्याटर सस्तैमा आउट भए।

नेपालले ६८ रन बनाउदा छैटौं विकेट गुमाएको थियो। त्यसपछि नेपाली ब्याटरबीच असमझदारी हुँदा एक रन बनाउँदा थप तीन विकेट गुमायो।

अन्तिम ओभरमा ६ रन चाहिदा नेपालका लागि रिया शर्माले ४ रन र इश्चरी विष्टले २ रन जोडेका थिए।

बलिङमा युगान्डाका एमबाबजीले ३ विकेट लिइन्।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन जोड्यो।

युगान्डका लागि ओपनिङ ब्याटर नकिसूयीले २२ रन जोड्दा नाम्पिनाले १४ रन बनाइन्।

बलिङमा नेपालकी पूजा महतोले ३ विकेट लिइन्। उनले ४ ओभरमा १४ रन जोड्दा १ मेडन राखिन्।

इन्दू बर्माले २ विकेट हात पार्न सफल भइन्। उनले १ ओभरमा १ मेडन राख्दा केबल ८ रन मात्र खर्चिइन्।

नेपाल, हङकङ, नामिबिया र युगान्डाबीच भइरहेको प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको थियो।

शनिबार भएको खेलमा नेपाललाई नामिबियाले ६ विकेटले पराजित गरेको थियो।

अब नेपालले तेस्रो खेलमा सोमबार हङकङसँग खेल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको