काठमाडौं । काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’मा दक्षिणकाली र तारकेश्वर नगरपालिकाले विजयी सुरुवात गरेका छन्।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा दक्षिणकालीले नागार्जुन नगरपालिकालाई १–० गोलले हरायो। निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिणकालीलाई जित दिलाउन नवीन कर्माचार्यले निर्णायक गोल गरेका थिए। उनले खेलको ५४औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। नवीन नै खेलको प्लेयर अफ द म्याच चुनिए। उनलाई दक्षिणकाली नगरपालिकाकी उपप्रमुख वसन्ती डंगोलले पुरस्कार प्रदान गरेकी थिइन्।
काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा शनिबार सुरु भएको प्रतियोगिताको शनिबार नै भएको अर्को खेलमा तारकेश्वर नगरपालिकाले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा तारकेश्वरले बुढानीलकण्ठ नगरपालिकालाई १–० गोलले पराजित ग¥यो। तारकेश्वरलाई जित दिलाउन विवश गुरुङले १२औं मिनेटमा निर्णायक गोल गरेका थिए। विवश नै खेलको प्लेयर अफ म्याच पनि घोषित भए। उनलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पुरस्कार प्रदान गरेका थिए।
चैत ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको संविधानसभा सदस्य ध्यानगोविन्द रञ्जितले उद्घाटन गरेका थिए। प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गरेको छ।
