अर्मान्डको ह्याट्रिकसँगै चर्च ब्वाइज फाइनलमा

बुटवल। अर्मान्ड बेएडुमको ह्याट्रिकसँगै चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले लिगको प्रतिद्वन्दी मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

चर्च ब्वाइजको जितमा अर्मान्डले ह्याट्रिक गरे। यस्तै, कप्तान अबायोमी फाकुल्नेले एक गोल थपे। मच्छिन्द्रका एलेक्स विलियम्सले सान्त्वना गोल फर्काए। यो गोल केपी ओली कपको उपाधिमा ह्याट्रिक गरेको मच्छिन्द्रलाई जितका लागि पर्याप्त भएन। योसँगै चर्च ब्वाइजले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरेको छ। अब चर्च ब्वाइजले उपाधि भिड्न्तमा एपिएफलाई चुनौती प्रस्तुत गर्नेछ। एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ।

डिफेन्डर प्रवेश कटुवालले दिएको क्रसलाई अर्मान्डले हेडर गर्दै गोल गरेका हुन्। त्यसको १० मिनेटपछि मच्छिन्द्रका कप्तान करिम ओमोलाजाले अर्मान्डलाई डिबक्समा रोक्ने प्रयास गर्दा लडाउन पुगे। त्यसैमा प्राप्त पेनाल्टीलाई अर्मान्डले नै गोलमा गर्दै अग्रता दोब्बर बनाए।

उनले ४४औं मिनेटमा ह्याट्रिक पूरा गरे। राज भुषालले उपलब्ध गराइदिएको बललाई मच्छिन्द्रका गोलकिपर टोपे रानामगरलाई बिट गर्दै गोल गरे। जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो। यसअघि संकटा क्लबका सृजनराज गौतमले जर्जियन फुटबल क्लब कालिम्पोङविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए।

चर्चले ६०औं मिनेटमा फाकुल्नेले गोल गर्दै अग्रता ४–० मा पुर्‍याए। राजले कर्नरमार्फत दिएको बललाई उनले भलीमार्फत गोल गरे। मच्छिन्द्रले निर्धारित खेल सकिन तीन मिनेट बाँकी रहँदा एक गोल फर्काएको थियो। एलेक्सले मैदानको मध्यभागतर्फबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डरद्वय बिकु राई तथा चेतन चौधरी र गोलकिपर विवश चौधरीलाई बिट गर्दै गोल गरेका हुन्।

खेलको ‘प्लेयर अफ द म्याच’ फाकुल्ने भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको