काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजाको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पुरुष÷महिलमा एकल काता र कुमुतेमा समान ११÷११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टिमको सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठीत गर्न र शहीद प्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्वपूर्ण हुने बताए। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि ज्यान दिने शहीदको सम्झना प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद दिए।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदवारी नगरपालिकाको सह–प्रायोजनमा हुने दुईदिने प्रतियोगिताका खेलहरु मंगलबारस्थित आदर्श कन्या निकेतनमा खेलाइने छ।