नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक ‘टि–शर्ट’ आज नेपालगञ्जमा सार्वजनिक गरिएको छ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ। प्रतियोगितामा भारत र नेपालका गरी आठ टीमको सहभागिता रहने जनाइएको छ।
नेपालगञ्जमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले टि–शर्ट सार्वजनिक गरे। कार्यत्रममा मन्त्री अग्रवाललाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सार्वजनिक गरिएको टि—शर्ट प्रदान गरेका थियो ।
त्यस अवसरमा मन्त्री अग्रवालले नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबलले खेलाडीको सहभागिता बढाउन ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
नेपालगञ्जमा खेलकुदको विकासका लागि सम्बद्ध पक्षको भूमिका सशक्त बन्न नसकेको उल्लेख गर्दै उनले सरकारले पनि बोल्नेकै कुरा सुन्छ, तसर्थ नगरिकस्तरवाट बोल्न सक्नुपर्छ उनले भने।
अन्तरालका प्रमुख कार्यकारी शाहको अध्यक्षतामा भएको टि—शर्ट सार्वजनिक कार्यक्रममा फुटबल प्रशिक्षक, खेल पदाधिकारी, पत्रकार, कानुन व्यवसायीलगायत नेपालगञ्जका लव्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो।
