पहिलो संस्करणको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता नेपालगञ्जमा हुँदैछ। आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको उल्टो गन्ती शुरु भइसकेको छ। प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि अहिले आप्नो कामलाई तिव्रता दिएका छन्।
नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ। यसका साथै प्रतियोगितामा सहभगिता जनाउने टिमको व्यवस्थापनलगायतको महत्वपूर्ण काम पनि जोडतोडका साथ भइरहेको छ। अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्ला फुटबल संघले सहकार्य गरेको छ।
संघका जिल्ला अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीसँग प्रतियोगिता तयारीकै सन्दर्भमा सहकर्मी सावित्री गिरीले गरेको कुराकानी:
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई कसरी लिनुभएको छ ? निश्चय पनि नेपालमा महिला फुटबल प्रतियोगिता एकदमै कम हुने गरेका छन्। लामो समयको अन्तरालपछि नेपालगञ्जमा हुनलागेको ठूलोस्तरको यो प्रतियोगिताले राम्रै प्रतिफल दिन्छ जस्तो लागेको छ साथै, यो प्रतियोगिता महिला फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास पनि मैले लिएको छु।
यो प्रतियोगिताले महिला फुटबल विकासको संभावनाहरु बारे बताइ दिनुस् न ? यो प्रतियोगिताले महिला फुटबलप्रति यस क्षेत्रका खेलाडीको रुची बढाउन पक्कै सघाउ पुर्याउछ । प्रतियोगितापछि स्थानीय तहमा महिला खेलाडीको सहभागिता बढ्ने सम्भावना पनि देखिन्छ।
प्रतियोगितामा टिम सहभागिताको अवस्था कस्तो रहेको छ ? यो प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहने छ। विभागिय टिमका साथै भारतका दुई टिमसंग हाम्रो कुराकानी भइरहेको छ। बाँके जिल्ला आयोजक भएकाले यहाको एउटा टिम र बाँकी अन्य टिमको सहभागिता रहने छ। सबै टिमको नाम हामी एक÷दुई दिनमा सार्वजनिक गरिनेछ।
प्रतियोगिता तयारीका क्रममा आइपरेका चुनौति के कस्ता छन् ?
चुनौतीहरु छन्। तर, हामी आशाबादी छौँ। हामी अहिले तयारीको अन्तिम अवस्थामा छौँ। अब पछाडी फर्कने वाटो हामीसँग छैन। प्रतियोगिता गराएरै छाड्नेमा हामी दृढ संकल्पिक छौँ। यही अठोटका साथ चुनौतिलाई चिर्दै हामी अघि बढिरहेको अवस्था छ।
अन्त्यमा, लुम्बिनीकप जस्ता इभेन्टहरु कहिले काही मात्र हुने गर्छन्। समग्रमा भन्नुपर्दा फुटबल खेलको विकासान यहाँको भूमिका निरन्तर कसरी अघि बढिरहेको छ ?
यो कुरा एकदम मननयोग्य छ। फुटबल खेलमा सहभागिता र चासोका लागि हामीले तयारी गरिसकेको अवस्था छ। लुम्बिनी कप सकिने वित्तिकै हामी नेपालगन्जमै महिला खेलाडीहरुलाई लक्षित गरेर प्रशिक्षण चलाउछौं । महिला खेलाडीमा निरु थापा र पुजा राना जस्ता खेलाडीहरु अबका दिनमा पनि हामी जन्माउने छौँ। खेलाडीको खडेरी हुन दिइने छैन। फुटबल क्षेत्रका विविध समस्यालाई चिरेर अगाडि बढ्दै जाने मेरो योजना रहेको छ। बाँके जिल्लामा स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यमा मलगायत मेरो टिम सधै अघि बढिरहेको छ।