बक्सिङ टोली भुटानतर्फ


काठमाडाैँ । फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे।

अप्रिल ११ देखि १३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती तथा ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्ने छन्। महिला ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले खेल्ने छन्।

अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन, आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा रहेका छन्।

बक्समान्डुबाट पनि ३ खेलाडी :
सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि ३ खेलाडी सहभागी गराउने भएको छ। बक्सिङका महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले खेलाडी सहभागी गराउन लागेको जानकारी दिए।

पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रवल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पाले सहभागिता जनाउने छन्। प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन्।
बक्समान्डु टोली पनि सोमबारै भुटान प्रस्थान गरेको छ । दुवै टोली प्रतियोगिताअघि थिम्पुमै अप्रिल ८ देखि १० तारिखसम्म हुने प्रशिक्षण शिवीरमा सहभागी हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको