काठमाडौं। काभा पुरुष भलिबल च्याम्पियनसिप सम्पन्न भएसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडीहरूको ड्रीम टिम घोषणा गरिएको छ। च्याम्पियन पाकिस्तानले ड्रीम टिममा सर्वाधिक चार स्थान ओगट्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम राखेको छ।
पाकिस्तानका मुराद जेहान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए। उनी उत्कृष्ट आउटसाइड हिटर समेत चुनिए। पाकिस्तानकै मुसावर खान उत्कृष्ट मिडल ब्लकर र मुराद खान उत्कृष्ट अपोजिट प्लेयर घोषित भए।
उपविजेता बंगलादेशबाट अल अमिन एमडी उत्कृष्ट सेटर, एमडी शाओन अली उत्कृष्ट लिबेरो तथा एमडी नइम होसेन उत्कृष्ट मिडल ब्लकर चुनिए।
तेस्रो स्थानमा रहेको श्रीलंकाका थारुषा चामथ दिलिशन वीरप्पुलिगे उत्कृष्ट आउटसाइड हिटर घोषित भए।
प्रतियोगिता समापनपछि आयोजकले सहभागी टोलीहरूको प्रदर्शनको पनि समीक्षा गर्दै काजाकिस्तानले उत्कृष्ट जितसहित प्रभाव छाडेको, उज्बेकिस्तानले श्रीलंकाविरुद्ध पाँच सेटसम्म संघर्ष गरेको तथा नेपालले उच्च मनोबल, प्रतिबद्धता र संघर्षशील खेल प्रदर्शन गरेको उल्लेख गरेको छ।
यस संस्करणको उपाधि पाकिस्तानले जितेको थियो भने बंगलादेश उपविजेता र श्रीलंका तेस्रो भएको थियो।