स्केटिङको एसियाड तयारी थाइल्यान्डमा

काठमाडौं। जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने २ पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्ने छन्। असोज ३ गतेदेखि सुरु हुने एसियाडमा दुवैले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

उनीहरुले करिब १ महिना बैंककस्थित हुआ मक स्केट पार्कमा प्रशिक्षण गर्ने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जनाएका छन्। महासचिव थापाले एकमहिने प्रशिक्षणपछि खेलाडीले त्यही प्रशिक्षणलाई निरन्तरता दिने वा नेपाल फर्कने अहिले टुंगो नलागेको बताए। बैंककमै प्रशिक्षणलाई निरन्तरता दिने विषयमा पनि कुरा भइरहेको महासचिव सत्यले बताए।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिदाइ गर्दै खेलाडीलाई उच्च मनोबलका साथ एसियाडमा प्रतिस्पर्धा गर्ने सुझाए। उनले एसियाडमा सहभागी हुने खेलाडीको १ वर्षको विमा गरिने बताउदै खेलाडीलाई अधित्तम सुविधा दिने विषयमा पनि प्रयासरत रहेको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको