काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लबले विजयी हासिल गरेको छ।
सातदोबाटोस्थिति एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार सम्पन्न दिनको अन्तिम खेलमा ब्वाइज युनियन क्लबमाथि च्यासलले २-१ गोलको जित दर्ता गरेको हो।
च्यासलको जितमा निराज कार्की र आशिष थारुले गोल गरे। यता, ब्वाइज युनियनका लागि मनकुमार तामाङले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै ६ खेलबाट तेस्रो जित हासिल गरेको च्यासले ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित ब्वाइज युनियन भने समान खेलबाट ६ अंकसहित आठौं स्थानमा झरेको छ।
खेलको ३२औं मिनेटमा निराजले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाएका थिए। उक्त पहिलो गोल गरेको पाँच मिनेटपछि च्यासलका लागि आशिषले गोल गर्दै पहिलो हाफभरि २-० को अग्रता दिलाए।
खेलमा जिततर्फ अगाडि बढेको च्यासलले इन्जुरी समयको पाँचौ मिनेट गोल व्यहोर्नुपरेको थियो। ब्वाइज युनियनका लागि मनकुमारले गोल गर्दै टोलीका लागि सान्त्वना गोल दिलाए। त्यसपछि बाँकी समय थप गोल नहुँदा खेलमा च्यासल विजयी भयो।
