गोर्खालीलाई सफलता

डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लबले एक महत्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबलाई ३०–१० ले पराजित गर्दै फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०२५ को उपाधि माथि दावेदारिता पेश गरेको छ।

शनिवार नै भएको पहिलो खेलमा सशश्त्र प्रहरी बलको एपीएफले नेपाल पुलिस क्लबलाई एकपक्षिय खेलमा ७८–० ले पराजित गरेको थियो। राउन्ड रोविन लिगको यो नतिजा संगै गोर्खालीको ४ अंक बनेको छ भने एपीएफ र नेपाली सेनाको २÷२ अंक भएको छ। पुलिस भने अंक विहिन छ।

अब प्रतियोगिताको लिग चरणको अन्तिम खेल आगामी मंगलवार हुनेछ। जहाँ गोर्खालीले नेपाल पुलिस संग तथा एपीएफ र त्रिभुवन आर्मी क्लब विच प्रतिस्पर्धा हुनेछ। यसको समग्र नतिजा संगै लिगमा शीर्ष रहने टोली च्याम्पियन हुनेछ।

शनिवार गोर्खाली क्लबले शुरुआत देखि नै सेनामाथी दवाव बनाउन सफल भएको थियो। दुई पेनाल्टी मार्फत शुरुमा ६ अंक जोडेपछि सेना पछि पर्यो। जसको फाइदा उठाउँदै गोर्खालीले पहिलो हाफमा १८–३ को अग्रता बनायो।

दोस्रो हाफमा स्कोर वढाउँदै गोर्खालीले ३० पुर्यायो भने सेना १० अंकमा रोकिएको थियो। गोर्खालीका तर्फबाट एक्लैले १५ अंक बनाएका विजय खड्का खेलको म्यान अफ द म्याच भए।
जित पछि गोर्खालीका प्रशिक्षक कृष्ण थापाले भने, “एपीएफको खेलमा हामीलाई जति दवाव थियो आज खेलाडीहरुले त्यस्तो अवस्था आउन दिएन। यो जितले हामी उपाधिका लागि ढुक्क बनाएको छ।”

एपीएफ र पुलिस बिचको खेलमा भने एपीएफ पूर्णतः हावी भएको थियो। टोलीले पहिलो हाफमै ४८ स्कोर गरिसकेको थियो। एपीएफले दोस्रो हाफमा स्कोर थप्ने काम भयो। एपीएफ कप्तान विराट श्रेष्ठ खेलको म्यान अफ द म्याच बने। अन्तिम दिनको खेल आगामी मंगलवार च्यासल मैदानमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको