रेफ्रीको स्तर सुधार नगरे एनएसएल नखेल्ने चितवनको चेतावनी

काठमाडौं। जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले रेफ्रीको स्तर समयमै सुधार नगरे नखेल्ने चेतावनी दिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार काठमाडौं रेजर्ससँग २–० ले पराजित भएसँगै चितवनका सिइओ सचिन ढकालले विज्ञप्ति निकाल्दै आफ्नो विपक्षमा बारम्बार विवादास्पद निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्।

एक खेल नै खेल्न बाँकी रहेको चितवन सात अंकसहित चौथो स्थानमा छ। अब चितवनले अन्तिम खेलमा धनगढी एफसीविरुद्ध जित्नै पर्ने हुन्छ। यस्तोमा समयमै रेफ्रीको स्तर सुधार र उत्तरदायित्व स्थापित गरिएन भने क्लबको प्राथमिकता अब ग्ल्यामरभन्दा टाढा बाट फुटबल र दीर्घकालीन ग्रास रुट विकासमा केन्द्रित हुने उनले चेतावनी दिएका हुन्।

‘हाम्रो स्पष्ट माग छ या त रेफ्रीहरूको स्तर तत्काल सुधार गरियोस्, वा विदेशी रेफ्रीहरूको व्यवस्था गरियोस्, जसले निष्पक्षता कायम राख्न सकुन्। नेपालको रेफ्री प्रणालीप्रति अघिल्ला विवादहरू र वर्तमान अवस्था हेर्दा यो अवस्था लगानीकर्ताहरूका लागि निराशाजनक मात्र होइन, अति असह्य पनि बन्न थालेको छ,’ उनले भनेका छन्।

काठमाडौंसँग र झापा एफसीसँगको खेलमा एकै फोर्थ अफिसियल श्याम दनुवार थिए। उनले ९४औं मिनेटमा झापालाई चितवनविरुद्ध श्यामकै संकेतमा पेनाल्टी दिइएको आरोप लगाएका छन्। उक्त खेलमा झापाले अलहाजी गिरोको पेनाल्टी गोलमार्फत १–१ को बराबरी खेलेको थियो। यो नतिजासँगै त्यतिखेर शीर्ष स्थानमा रहेको चितवनले दुई अंक गुमाएको थियो। अझ कतिसम्म भने चितवनले यो खेल अगाडिसम्म कुनै गोल खाएको थिएन।

‘चौथो रेफ्रीले झापा एफसीका पक्षमा गोप्य रूपमा पेनाल्टीको संकेत गरेको स्पष्ट देखिएपछि क्लबले सो व्यक्ति रेफ्रीको रूपमा आगामी खेलमा नआउन् भन्ने औपचारिक अनुरोध गरेको थियो। तर, दुर्भाग्यवश, उक्त रेफ्रीलाई पुनः सोही खेलमा मुख्य रेफ्री र चौथो रेफ्रीको रूपमा नियुक्त गरिएको छ,’ ढकालले भनेका छन्।

यो घटनाले मात्र नभई विगतका विभिन्न खेलहरूमा पनि बारम्बार विवादास्पद निर्णयहरू आइरहेका उनले दाबी गरेका छन्। जुन निर्णयहरू प्रायः एकतर्फी, अस्पष्ट र फुटबलको मर्मविपरीत देखिएको उनको भनाइ छ। ‘यस्ता निर्णयहरूले करोडौं रुपैयाँको लगानी, खेलाडीहरूको मिहिनेत र समर्थकहरूको भावना माथि प्रश्न चिन्ह खडा गरेको छ,’ उनले भनेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको