प्लेअफमा पुग्न धनगढी र चितवन खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणको अन्तिम खेलमा बिहीबार धनगढी एफसी र एफसी चितवन भिड्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्ले अफमा स्थान बनाइसकेको धनगढीलाई यो खेल जित्दै शीर्ष स्थानमा रहने अवसर छ । यता चितवनलाई भने प्ले अफमा स्थान बनाउन कम्तिमा पनि बराबरीको नतिजा चाहिन्छ ।

यसअघि धनगढी पाँच खेलबाट ११ अंकसहित दोस्रो तथा चितवन सात अंक जोडेर पाँचौं स्थानमा रहनेछ ।

चितवनले यो खेल गुमाएको खण्डमा काठमाडौं रेजर्स प्ले अफमा पुग्ने छ । ६ खेल नै खेलिसकेको काठमाडौं रेजर्स अहिले आठ अंकसहित चौथो स्थानमा छ ।

जित निकाल्न सके चितवन तेस्रो स्थानमा रहेर प्लेअफ पुग्नेछ । बराबरीको नितजा निकाले चितवन र काठमाडौंको अंक बराबरी हुनेछ । तर गोल अन्तरमा अगाडि रहने भएकोले चितवनको प्लेअफ यात्रा तय हुनेछ ।

यस पटक दुई टिमको अंक बराबरी भएमा गोल अन्तर हेर्ने प्रावधान छ । त्यसैले ६ खेलबाट ८ अंक जोडेको पोखरा थन्डर्सले काठमाडौंलाई गोल अन्तरमा पछि पार्दै प्लेअफमा स्थान बनाइसकेको छ ।

पोखराको गोल अन्तर प्लस एक र काठमाडौंको माइनस एक छ । चितवनको गोल अन्तर हाल शुन्य रहेकोले बराबरी खेले पनि काठमाडौं भन्दा अघि रहने पक्का भएको हो ।

धनगढी देवेन्द्र तामाङ र चितवन अञ्जन विष्टको कप्तानीमा मैदान उत्रिनेछन् ।

एनएसएलमा यी दुईबीच दुई खेल भएका छन् । दुवैमा धनगढीले जित निकालेको छ ।  धनगढी पहिलो सिजनमा ३-० र दोस्रो सिजनमा १-० ले विजयी भएको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको