काठमाडाैँ । प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ। पुलिसका सोनिम मानन्धरले दोहोरो स्वर्ण हात पारे।
काताको चार स्पर्धाम पुलिसले ३ र त्रिभुवन आर्मी क्लबले १ स्वर्ण पदक प्राप्त गरे । व्यक्तिगत काता पुरूषमा पुलिसका सोनिम मानन्धरले पहिलो स्थान प्राप्त गरे। सशस्त्र प्रहरी बल (एपिएफ) का मनिष कार्की दोस्रो भए। लुम्बिनीका वसन्त थारू र आर्मीका विनय लिम्बुले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे।
नेपाल पुलिसले नै पुरूष टिम कातामा स्वर्ण जित्यो। स्वनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुक सम्मिलित टिमले स्वर्ण जितेको हो। सोनिमले टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जिते। एपिएफ दोस्रो तथा वागमती र सुदुर पश्चिम प्रदेश संयुक्तरुपमा तेस्रो भए।
महिला व्यक्तिगत कातामा पुलिसकी एलिसा रासकोटी मगरले स्वर्ण जितिन्। आर्मीकी सानुमाया थिङले रजत पदक हात पारिन्। एपिएफकी सन्जु देसार र कोशी प्रदेशकी सलिना जोशीले कास्य पदक हात पारे।
महिला टिम कातामा त्रिभुवन आर्मीका सानुमाया थिङ, संगिता मगर र सुनिता सुनार सम्मिलित टिमले स्वर्ण जित्यो । सुदुर पश्चिम प्रदेश दोस्रो भयो। गण्डकी र कोशी प्रदेशले तेस्रो स्थानमा चित बुझाए।
पहिलो दिन पुरूषतर्फ जुनियर कुमुतेमा दुई तौल समुहमा भएको प्रतिस्पर्धामा एपिएफले दुई स्वर्ण जित्यो। ५५ केजी तौल समुहमा एपिएफका गण्डकीका संगम राना मगरलाई १-० ले हराउँदै स्वर्ण हात पारे।
महिला ५५ केजी तौल समुहमा पनि एपिएफकी सोनाम शेर्पा सफल रहिन्। उनले फाइनलमा मधेश प्रदेशकी पोरसिया चौधरीलाई पराजित गरिन्। यसअघि उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए।
यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहनेछ । पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।