काठमाडौं। नेपालका सन्तोष राईले अमेरिकामा भएको हिराल्डो काई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक जितेका छन्।
अमेरिकाको न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्फ रजत पदक जितेका हुन्। यस वर्ष उनको यो पहिलो पदक पनि हो। गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए। यस वर्षको सुरुआतमा पनि सन्तोषले आफ्नो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि पदक जिते। इलङ्कोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले कातामा यो सफलता पाएका हुन्। फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए।
सन्तोषले यस वर्ष सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमै पदक जित्न पाउँदा उत्साहित रहेको र यो सफलतालाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन्। ‘गत वर्ष एउटा मात्र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक जितेको थिएँ। यस वर्ष पनि पहिलो सहभागितामा नै पदक जित्दा धेरै उत्साहित छु,’पदक जितेपछि सन्तोषले भने। त्यसअघि भने उनले सेमिफाइनलमा बेल्घिमी करिमलाई हराउँदै फाइनलमा स्थान बनाएको प्रशिक्षक सुनिल लामाले जानकारी दिए।
क्वार्टरफाइनलमा पनि सन्तोषले पाब्लिनिया गेरोमीलाई हराएका थिए। यसै च्याम्पियनसिपमा उनी फाइटतर्फ भने सेमिफाइनलमा पराजित भएका थिए। उनले लास भेगासमा सम्पन्न युएस ओपनमा पनि प्रतिस्पर्धा गरेका थिए। त्यहाँ उनी क्वार्टरफाइनलमा इजिप्टका खेलाडीसँग ४–४ अंक भए पनि सेन्सुका आधारमा पराजित भएका थिए। सन्तोष इचङ्गु डोजाका प्रमुख हुन्। उनको डोजोले आइतबार नै सम्पन्न शेरबहादुर राष्ट्रिय कराते प्रतियोगितामा समान दुई स्वर्ण र रजत जितेका थियो। यो च्याम्पियनसिपमा उनकै खेलाडी साइमन श्रेष्ठ उदीयमान खेलाडीसमेत भएका थिए।