काठमाडाैँ। नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदक जितेका छन्।
नेपाल सितोरियो कराते संघका सचिव समेत रहेका टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते। अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत हात पारे। प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका हुन्।
व्यवस्थापकमा बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिमाल र नेपाल कराते महासंघका सदस्य दिलिपराज भण्डारी, अर्का प्रशिक्षकमा अविनाश चौधरी तथा निर्णायकमा शान्ति तामाङ रहेका छन्। टोली मंगलबार स्वदेश फर्किदैछ। प्रतियोगितामा नेपालसहित भारत, युएइ, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी गराए।