काठमाडौं । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घघाटन खेलमा आयोजक गोदावरी नगरपालिका विजयी भएको छ।
गोदावरी नगरपालिकाको आयोजनामा वडा नम्बर १० स्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार शुरु भएको प्रतियोगितामा गोदावरीले महालक्ष्मी नगरपालिकालाई ६-१ को गोल अन्तरमा हराउँदै विजयी सुरुवात गरेको हो।
गोदावरीको जितमा खेलको म्यान अफ दि म्याच भएका अरुण लामाले ४ गोल गरे। उनले पहिलो हाफ र दोस्रो हाफ दुवैमा २ मिनेटको अन्तरमै २-२ गोल गर्न सफल भए।
अर्को एक गोल पासाङ लामाले गर्दा थप एक गोल सान्त्वना उपहार पायो।
खेलको अन्तिम समयमा आएर महालक्ष्मीले सान्त्वना गोल फर्कायो। रोनेश राउतले एक गोल फर्काएका हुन्।
शनिबारको जितसँगै समूह एबाट गोदावरी नगरपालिकाले ३ अंक बटुलेको छ भने महालक्ष्मीको १ खेलबाट कुनै अक छैन। जितले सेमिफाइनलका लागि बाटो सहज बनेको छ भने हारले कठिन बनेको छ। यद्यपि पहिलो खेल हारेको टोलीको पनि सम्भावनाको ढोका भने उत्तिकै छ।
यो समूहमा रहेका ललितपुर महानगरपालिका र बागमती गाउँपालिका आइतबार खेल्दैछन्।
प्रतियोगितामा उपत्यकाभित्रका मा १३ वटा पालिकाको सहभागिता रहेको छ। सहभागी भएका १३ वटा पालिकाका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता संचलन भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी पुरस्कार पाउनेछन्।
अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ।
